कास्की , ४ भदौ

पर्यटकीय गाउँपालिका कास्कीको माछापुच्छ्रेले हरेक वर्ष अनेकन नीति तथा योजना अघि सार्छ । पालिकाले सम्पादन गरेका मध्ये केही त्यस्ता उदाहरणीय कार्य पनि छन् जसले पालिकाका नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारसँग जोड्ने गरेको छ । पालिकाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छन् जस मध्ये केहि कार्यले त पालिका साँच्चिकै स्थानीय सिंह दरबार भएको महसुस गराउँछ । ति मध्ये एक हो विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै’ अभियान । पछिल्लो समय कक्षा १२ सकेपछि विद्यार्थीहरु विदेश भासिने क्रम व्यापक छ । वैदेशिक रोजगार मुख्य केन्द्र हुँदा बसाइँसराइले गाउँनै रित्तिन थालेको छ । यसरी गाउँनै रित्तिने र पालिकाभित्र सीप प्रदान गर्न विद्यार्थी लक्षित ‘सिक्दै कमाउँदै’ योजना अघि सारेको छ । गत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै राखेर अघि बढाएता पनि यसको सुरुवात भने नयाँ आर्थिक वर्ष चालु बाट मात्रै भयो । हाललाई पालिकाले चार विद्यालयमा सो अभियान अघि बढाएको छ । माछापुच्छे्र गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार वडा नम्बर ७ धम्पुसस्थित उदय माविमा मोडा बुन्ने, वडा २ माछापुच्छे्र मावि र वडा नम्बर ६ बाराहि माविमा च्याउ खेती तथा वडा नम्बर ३ शुक्लागण्डकी माविमा टनेलसहित तरकारी खेतीको सुरुवात भएको छ । विद्यार्थीहरुलाई कृषिमा आबद्ध गराउन र सीप प्रदान गर्नु नै पालिकाको मुख्य ध्येय छ । त्यतिमात्र होइन, सामुदायिक सिकाइ केन्द्र र पालिकाको साझेदारीमा १५ लाखमा झोला उद्योगसमेत खोलेको छ । बजारमा एक हजार पाँच सय रुपैयाँ पर्ने झोला पालिकाभित्रका विद्यालयमा पाँच सय रुपैयाँमा दिने योजना रहेको अध्यक्ष गुरुङ बताउछन् ।
‘केही बजेट छुट्याएका छौं, गत वर्ष यो योजना ल्याए पनि आर्थिक वर्षको अन्त्यमा मात्रै सुरुवात भएको छ । यो मावि पढ्ने विद्यार्थीहरुले नै गरिरहेका छन् । अहिलेबाटै सीप सिके भविष्यमा सजिलो हुन्छ भनेर नै अगाडी बढाएका हौं’, उनले भने, ‘यो सुरुवात हो । यो बाहेक मार्केटमा एक हजार पाँच सय पर्ने झोलालाई हामी पाँच सयमा दिने गरी सामुदायिक सिकाइ केन्द्रसँगको साझेदारीमा झोला उद्योग समेत सञ्चालन गरेका छौं ।’
सिक्दै कमाउँदै अभियानमा पालिकाले उत्पादन भएका तरकारीलाई सुपथ मुल्यमा दिने गरी व्यवस्थापन गर्ने उनले बताए । पालिकाले पञ्चवर्षिय शिक्षा योजना निर्माण, स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याएको छ । यस्तै सुत्केरी सट्टा शिक्षक व्यवस्थापन, प्रधानध्यापक व्यवस्थापन तथा ५ वर्षे कार्यसम्पादन करार प्रधानाध्यापकलाई प्रोत्साहन भत्ताकोसमेत व्यवस्थापन गरेको छ । यीबाहेक पालिकाले गरेका असल कृत्यमा नागरिकता सिफारिसमा पूर्ण निःशुल्क गरिएको छ । गाउँपालिकाभित्र जन्मिएका बालिकाको नाममा खाता खोली पाँच हजार रुपैयाँसमेत जम्मा गर्ने योजना अघि सारेको छ । बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्दै आइरहेको छ ।
यस्तै वर्थिङ सेन्टरमा बच्चा जन्मनुभन्दा ५ दिन अगाडि र बच्चा जन्मिएको ५ दिन पछाडिसम्म एकजना कुरुवा समेतलाई खान र बस्नको व्यवस्था पालिकाले गर्दै आइरहेको छ । गर्भवती अभिमुखीकरण कार्यक्रम वर्षमा दुईपटक र गर्भवती महिलाको भिडियो एक्सरे हरेक ३ महिनामा निःशुल्क प्रदान गर्दै आइरहेको छ ।















