पोखरा, ३ असोज ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र भएको क्षतिको विवरण यकिन गरी तत्काल प्रदेशमा पुनर्निर्माण कोष स्थापना गर्न कांग्रेस प्रदेश संसदीय दलले माग गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहिबार बसेको संसदीय दलको बैठकले सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातको साधनमा ठूलो क्षति भएको हुँदा त्यसको यकिन विवरण तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
साथै जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएको औल्याउँदै सो कोषमा दलको तर्फबाट दश लाख प्रदान गर्ने निर्णय गरिएको उनले बताए । बैठकले भदौ २३ गते जेनजी युवाद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरू, सुरक्षाकर्मीहरू तथा दिवंगत भएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको ।
यसैगरी भदौ २३ र २४ गते भएका ज्यादती तथा ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरेको छ । जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरू , सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासनको प्रत्याभूति गर्नुपर्ने बारे आफ्नो दल प्रतिबद्ध रहेको जनाएको छ । साथै यस सन्दर्भमा नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले मितव्ययिता कायम गर्न चालु खर्च घटाउने, दरबन्दी कटौती गर्ने, कार्यालय समायोजन गर्नेजस्ता सुशासनमैत्री कार्यहरूको प्रशंसा गर्दै, अझ जनमैत्री र उत्तरदायी ढङ्गले अघि बढ्न आग्रह गर्ने निर्णय गरेको छ ।
नेपाली जनताले लामो संघर्षपछि निर्माण गरेको नेपालको संविधानकै मार्गबाट मुलुकको समुन्नति र नयाँ पुस्ताको चाहना पूरा हुन सक्ने भएकाले संविधानको रक्षा तथा सुदृढीकरण गर्नु हामी सबैको कर्तव्य हो । यसै सन्दर्भमा संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा निर्वाह गर्नुभएको अभिभावकत्वप्रति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूलाई नेपाली कांग्रेस संसदीय दल हार्दिक आभार व्यक्त गरेको छ ।
मुलुकमा रोजगारी सिर्जना र राजस्व उत्पादनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिइरहेको निजी क्षेत्रमाथि भएको गम्भीर आक्रमणको भत्र्सना गर्दै, लगानीमैत्री वातावरण पुनःस्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।
यसैगरी बैठकले आन्दोलनका क्रममा नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेताहरु लगायत आम नागरिकमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस विषम परिस्थितिमा सम्पूर्ण राजनितिक दलहरु, नागरिक समाज, युवापुस्ता लगायत सबैमा धैर्य रही संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकताबद्ध हुन सबैमा अपिल गरिएको सचेतक न्यौपानेले जानकारी दिए ।















