लेखनाथ, १० मंसिर ।

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगति टोल विकास सस्था र सोही टोलमा रहेको ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समिति तथा नवीनज्योति महिला समूहको संयुक्त आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा सञ्चालित १५ दिने योग शिविर बुधवार सम्पन्न भएको छ ।
“ गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ टोलवासीहरुमा योगवारे चेतना जगाउने उदेश्यले शिविर सम्पन्न गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए ।
ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिका अध्यक्ष समाजसेवी मोति गिरी, अध्यक्ष ललिन्द्र खड्का, पतञ्जली योग पीठ नेपालका केन्द्रिय महासचिव विश्वमणि तिवारीले योग गुरु परमान्द भण्डारीलाई सम्मान समेत गरेका थिए ।
ओमकारेश्वर शिव मन्दिरका अध्यक्ष मोति गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पतञ्जली योग पीठ नेपालका केन्द्रिय महासचिव विश्वमणि तिवारीले तनाव व्यवस्थापनका लागि योग उपयोगी रहेको भन्दै यसमा सावधानी अपनाउनु पर्नेमा जोड दिए ।
नवीनज्योति महिला समूहकी अध्यक्ष लक्ष्मी आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।प्रशिक्षणमा टोलका ४० सदस्य सहभागी भई लाभान्वित रहेका थिए । शिविरमा सहभागीहरुलाई धन्यवाद दिंदै नवीनज्योति महिला समूहकी सदस्य ज्ञानू घिमिरेले योग शिविर फलदायी भएको विचार राखिन् ।















